Tuesday, February 24, 2009

हत्याको विरोधमा युथफोर्सद्वारा तनहुँ बन्द

वाइसीएलले आफ्ना कार्यकर्ताको हत्या गरेको भन्दै युथफोर्सले मंगलबार तनहुँ बन्द गराएको छ। जिल्ला बन्दले दमौली डुम्रेमा यातायात बजार पसल शिक्षण संस्था बन्द छन्। पृथ्वीराजमार्ग भएर पोखरा आउजाउ गर्ने सवारी साधन रोकिएका छन्।
व्यास नगरपालिकाका सकि्रय सदस्य गोरे परियारको वाइसीएलले हत्या गरेको युथफोर्सले आरोप लगाएको छ। २५ वर्षीय परियारको शव सोमबार अपराह्न पोखरीभाज्याङ-१ स्थित मादी नदी किनारमा भेटिएको थियो। वाइसीएलले केही दिनअघि परियारलाई एक साताभित्र मार्ने धम्की दिएको युथफोस्र व्यास नगर संयोजक प्रताप श्रेष्ठले बताए।
´मार्ने धम्की दिएलगत्तै परियारको हत्या भएको छ´, उनले भने- हत्या वाइसीएलले नै गरेको हो।
उनका अनुसार कामबाट फर्कंदै गर्दा आइतबार साँझ वाइसीएलले परियारलाई नियन्त्रणमा लिएका थिए।
´हत्यारालाई कारबाही नगरेसम्म आन्दोलन गरिरहन्छौं´- युथफोर्स नगर संयोजक श्रेष्ठले भने। प्रहरीले परियारको शव दमौली अस्पतालमा राखेको छ। हत्यारा पत्ता लगाई कारबाही नगरेसम्म शव पोष्टमार्टम गर्न नदिने अडान युथफोस्रले राखेको छ।
वाइसीएलका व्यास नगर इन्जार्च राजकुमार दुलालले भने हत्यामा आफूहरुको कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

´परियारको हत्यामा हाम्रो कुनै संलग्नता छैन´, दुलालले भने- यो हामीमाथिको निराधार आरोप हो।
उनले परियारलाई मार्ने धम्की नदिएको दाबी गर्दै भने- आरोप लगाउनुअघि हत्याको प्रमाण र आधार दिन युथफोर्सलाई चेतावनी दिन्छु।
परियार केही महिनाअघि मात्रै वाइसीएल छोडेर युथफोर्समा लागेका थिए। त्यसैको रिसमा वाइसीएलले उनको हत्या गरेको युथफोर्सको दाबी छ।
´पहिला हाम्रै कार्यकर्ता हो´, वाइसीएल इन्चार्ज दुवालले भने- ´२,३ महिनाअघि युथफोस्रमा प्रवशे गरे पनि हामीले बेवास्ता गरेका थियौं।´ कमजोर आर्थिक अवस्थाका परियारका श्रीमती र एक छोरा छन्।
प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। ´शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएका छौं´, प्रहरी निरीक्षक रवि पौडेलले भने- ´छानविन भइरहेकाले अहिले केही भन्न मिल्दैन।
उनका अनुसार मृतकको अनुहारमा धारिलो हतियार प्रहार गरिएको गहिरो चोट देखिएको छ।
युथफोर्सले भने हत्या वाइसीएलले नै गरेको दाबीसहित हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै तनहुँ बन्द गराएको बताएको हो।

Source: Dainikee.com

No comments: