Tuesday, February 24, 2009

राजामामाकी छोरीलाइ प्रतिष्ठानले हुर्काउने

कुसुन्डा जातिका एक्ला सदस्य भनिएका राजामामाको छोरी जन्मेपछि सम्पूर्ण जिम्मेवारी आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले लिने भएको छ। छोरी शुक्रवार जन्मिएकी हुन्। गत वर्षसम्म यो जातिका उनी एक्ला सदस्य मानिदै आएकामा यता आएर दाङतिर यसै जातिका थप सदस्य प्रतिष्ठानको टोलीले फेलापारेको प्रारम्भिक तथ्यांकका आधारमा उल्लेख गरेको छ। मामा तनहुँको ब्यास नगरपालिका –१ पालघरेमा बस्दैआएका छन्। सुरुमा एक्ला भनिएका यिनको वंश बचाउन पाँच वर्ष अघि प्रतिष्ठानले नै रामेछापकी इन्द्रमाया तामाङसँग बिहे गरिदिएको थियो। लामो समयसम्म पनि बच्चा नजन्मेपछि गत वर्ष मामा दम्पतिलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। डाक्टरले ´टेस्ट्युबबेबी जन्माउन नपर्ने´ बताएपछि उनीहरु घर फर्केको प्रतिष्ठानका सूचना अधिकृत राम मादेनले बताए।
बच्चा जन्मेपछि लालनपालन र शिक्षाको सम्पूर्ण जिम्मा प्रतिष्ठानले नै लिने मादेनले बताए। मादेनका अनुसार प्रतिष्ठानले नै ६ वर्षयता मामा परिवारलाई खाद्यान्नलगायतका सुबिधा उपलब्ध गराउँदैआएको छ।
मामा परिवारको सुरक्षित बसोबासका लागि आदिवासी जनजाति महासंघ र प्रतिष्ठानले यसै वर्ष ब्यास नगरपालिका– ५ मा घर घडेरीको व्यवस्था गरिदिएको मादेनले बताए।

Source: Dainikee.com

No comments: